दुर्घट्ना अपडेट : दुर्घटनामा मृत्युहुनेको संख्या ७ पुग्यो, घाइतेहरूको सुर्खेतमा उपचार हुँदै ।
सुर्खेत : कालिकोटको पलाता गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जनाको घटनास्थलमै मृत्युु भएको हो भने एक जनालाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका हुन ।
आइतबार दिउँसो करिब ३ बजेको समयमा पलाता गाउँपालिका–३ राडुकाप्रे खोलामा जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर मृत्यु हुनेमा पलाता गाउँपालिका–६ बस्ने दसकला शाही, पदम बम, भगवती रोकाया, गणेश बस्नेत, वडा नम्बर ५ बस्ने छायाँ शाही र वडा नम्बर ३ का दमन रोकाया छन्। यस्तै गाडी चालक सल्यानका धनिराम रावतलाई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याए लगातै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन्। घाइते हुनेमा पलता गाउँपालिका ६ का केशव थापा, ईश्वर थापा, विजय थापा, रिदम शाही, जविशा शाही, आसिप रोकाय, भुपेन्द्र रोकाय, स्वदिप रोकाय, ५ नम्बर वडाका डोली विक, आयुषा विक, वडा नम्बर ३ का दानबहादुर रोकाय, निर्मला रोकाया, जगत रोकाय छन । घाइतेहरूको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ। नेपाली सेनाको हेलिकप्टरबाट १३ जना जनालाई सुर्खेत पुर्याईएको हो।
दुर्घटनामा परेको जीप कच्ची सडकबाट करिव पाँच सय मिटर तल खसेको र घटनाबारे अनुसन्धान भइरहेको कालिकोट प्रहरीले जनाएको छ । घाइतेहरूको उद्बार लगतै सुर्खेत विमानस्थलमै पुग्नुभएका मुख्यमन्त्री यामलाल कंडेलले प्रदेश अस्पतालमा पुगेर घाइतेहरूको उपचारमा कुनै कमी नगर्न निर्देशन दिनुभएको छ । घाइतेहरू मध्य १ अवस्भैथा गम्भिर रहेको र अन्यको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न डा. पदम गिरीले जानकारी दिनुभयो ।