अमेरिकामा अर्को विमान दुर्घटना, घरमा आगलागी ।

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा एक सानो विमान दुर्घटनाग्रस्त भएको छ। शुक्रबार राति (स्थानीय समयानुसार) रुजबेल्ट मल नजिकै सडकमा विमान दुर्घटना भएको हो। दुर्घटना पश्चात् नजिकैका कार र घरहरूमा आगो लागेको छ। 

फक्स न्यूजका अनुसार, उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडेको विमानमा दुई जना यात्रु थिए र साँझ ६ः३० बजे दुर्घटना भएको हो। एक भिडियोमा विमान ठूलो आवाजसहित दुर्घटनाग्रस्त हुने क्षण देखिएको छ, जसपछि त्यस क्षेत्रमा धुवाँले ढाकेको छ। विमानमा दुई जना सवार भएको पुष्टि भएको छ, तर उनीहरूको अवस्था अहिलेसम्म थाहा छैन। उद्धार कार्य जारी छ। 

फिलाडेल्फिया आपतकालीन व्यवस्थापन कार्यालयद्वारा एक्समा पोष्ट गरिएको फोटोले रुजबेल्ट मल नजिकैको आकाशमा धुवाँको बाक्लो मुस्लो देखिन्छ। दुर्घटनापछि प्रमुख सडकहरू पनि अवरुद्ध भएका छन्। हवाई दुर्घटनाको अनुसन्धान गर्ने राष्ट्रिय यातायात सुरक्षा बोर्डले घटनाबारे जानकारी सङ्कलन गरिरहेको जनाएको छ। 

यो दुर्घटना बुधबार रेगन राष्ट्रिय विमानस्थल नजिकै अमेरिकी एयरलाइन्सको यात्रुवाहक विमान र आर्मीको ब्ल्याक हक हेलिकप्टरबीचको ठक्करपछि ६७ जनाको मृत्यु भएको घटनापछि भएको हो। पछिल्लो घटनामा मृतकहरूको खोजी अझै जारी छ।

Leave a Reply